बगरबाट बौरिँदै...
gorkhapatraonline.com · Sat Sep 12 05:48:58 GMT 2026

हिमाली खोचबाट सुसाइरहने भोटेकोशी नदी गत भदौ १० गते गर्जिन पुग्यो । यसरी गर्जियो कि त्यसले आफ्नो बाटो मात्र बिर्सेको थिएन, त्रिशूली कोरिडोरको अस्तित्व नै मेटाउने प्रण लिएको थियो । भदौ १४ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका हिमबाढी प्रलयग्रस्त क्षेत्रमा पुग्दा त्यहाँका दृश्य शब्दमा उतार्न मनलाई निकै कठोर बनाउनुपर्ने स्थिति छ । नेपाल–चीन सीमास्थित रसुवागढीदेखि टिमुरे, चिलिमे, स्याफ्रुबेँसी, वेत्रावती, उत्तरगया, मैलुङ, त्रिशूली, देवीघाटसम्मका बगेका बस्ती, हिलो र लेदोमा पुरिएका सपना र जताततै छरिएका भग्नावशेषले प्रकृतिको विनाशकारी लीलाले मन विह्वल हुन्छ । यो केवल हिमपहिरो वा हिमबाढीको विवरण मात्र होइन, बाढीपछि जागेको मानवीय संवेदना, राज्यले उद्धार र राहतका लागि द्रुततर रूपमा अघि बढाएको कार्य, बगरबाटै बौरिएर उठ्ने नागरिकका आकाङ्क्षालाई प्रत्यक्ष बोध गरिएको दस्ताबेज पनि हो । भोटेकोशीको रौद्ररूपले निम्त्याएको विनाश बयान गरिसाध्य छैन । आँधीको वेग जसरी भेलसँगै आएको लेदो र विशाल चट्टानले हेर्दाहेर्दै हजारौँ परिवारको भरोसा र ओत खोसिदियो । बर्सौंको पसिना र मेहनतले बनाएका घर एवं बजार क्षणभरमै नदीको बगरमा विलीन भए । बाढीले बाटो र पुल मात्र बगाएन, कैयौँका परिवार र भविष्य लग्यो । खोलाको किनारमा उभिएर आफ्नै घर पसेको स्थानतिर टोलाउँदै गरेका नागरिकको अनुहारमा विक्षिप्त भाव र त्रास स्पष्ट देखिन्थ्यो । रात पर्नासाथ फेरि छाँगाबाट खोला खस्छ कि भन्ने डरले नागरिक निदाउन सकेका छैनन् । भोटेकोशीको सुसाइले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नागरिकलाई शान्तिपूर्वक काममा फर्किन सक्ने वातावरण छैन । प्रकृतिको कहर केवल भौतिक क्षतिमा मात्र सीमित छैन, यो उनीहरूको मानसिकताभित्र गहिरो गरी बसेको छ । यो मनोसामाजिक क्षतिको पूरण हुन केही समय अवश्य लाग्छ ।
रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीका नागरिक प्राकृतिक विपत्तिका अगाडि पूर्णतः निःशब्द बनेका छन् । सरकारले भने द्रुततर गतिमा उद्धार र राहत कार्य अगाडि बढायो । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थिति यो बेला नागरिकमा आशाको किरण बनेको छ । उर्लिरहेको भोटेकोशीको धमिलो भेलमा ज्यानै बाजी लगाएर डोरीको भरमा नागरिकको उद्धार गरिरहेका सैनिकको कार्य पेसागत जिम्मेवारी मात्र होइन, अभूतपूर्व मानवीय धर्मको उदाहरण पनि बनेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार रसुवा बाढीपछि द्रुत उद्धार राहतका लागि हवाई, जमिन र सुरुङमा नौ हजार तीन सय सैनिक परिचालन गरिएको थियो । अहिले पनि करिब आठ हजार सात सय सैनिक सङ्कटग्रस्त क्षेत्रमा छन् । उद्धार र राहतकै लागि १४ देखि २२ वटासम्म हेलिकोप्टर प्रयोग गरियो । सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको र विकट भौगोलिक अवस्थितिले जान असम्भव ठाउँमा सैनिक जवान रातदिन खटिएका छन् । पहिरो पन्छाउनु, हिलोभित्र थिचिएका जीवित नागरिक र मृत शरीर बाहिर निकाल्नु र अस्थायी शिविर निर्माण गरेर राहत वितरणलाई व्यवस्थित बनाउन सेनाले देखाएको तत्परता साँच्चै प्रशंसायोग्य छ । विपत् व्यवस्थापनमा नेपाली सेनाको साहसिक र व्यवस्थित कार्यशैलीले सङ्कटका समयमा राष्ट्रिय सुरक्षा निकायको औचित्य र महत्वलाई फेरि एक पटक उच्च बनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)