चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ
emountaintv.com · Sun Sep 13 05:41:58 GMT 2026

काठमाडौँ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभएको हो । काठमाडौं महानगर प्रहरी बलको आईतवार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौंमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताउनु भयो । उहाँले चोभारको निकासको चौडाई र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताउनु भयो । काठमाडौंको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उहाँको सुझाव छ । एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताउनु भयो । विकास आवश्यक भएपनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उहाँको भनाइ छ ।
Read full story at source (emountaintv.com)