तिज गतिशील समाजको ऐना
gorkhapatraonline.com · Mon Sep 14 02:09:40 GMT 2026

हिन्दु महिलाले मनाउने यस वर्षको तिज पर्व सुरु भएको छ । आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको याद र झल्कोलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा तिज पर्वको गहन महत्व रहेको छ । विवाह गरेर गएका महिलालाई तिजमा माइतीघरमा निम्ता गरेर बोलाइन्छ । अचेल इन्टरनेट र मोबाइल फोनको जमाना नभएका बेला माइती पक्षका बुवा, आमा, दाजु, भाइले आफ्ना दिदी, बहिनी, छोरीचेलीलाई लिन चेलीबेटीको घरमै जाने चलन थियो । तिजमा निम्ता गरेर डाकिएका चेलीलाई मिठा मिठा भोजनका परिकार खुवाउनुका साथै नयाँ लुगा कपडा उपहाररुवरूप दिने चलन अझै पनि छ । महिलालाई पराइ घरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका छ । तिजमा विवाहिता महिला आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहित सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाले तिजको व्रत कथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण/ब्राह्मणीलाई दानदक्षिणा गर्ने चलन छ ।
यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिनसम्म मनाइन्छ । तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तिज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ । भगवान् शिवकी अर्धाङ्गिनी हिमालयपुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्, त्यो दिन यही हरितालिका तिजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
Read full story at source (gorkhapatraonline.com)