कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
emountaintv.com · Mon Sep 14 06:38:43 GMT 2026

काठमाडौँ ।
भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ । सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेकाअनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएपनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ । उहाँकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो । कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताउनु भयो । नेपाल जिओटेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (emountaintv.com)