सुत्केरीलाई डोलीमा बोकेर उद्धार
gorkhapatraonline.com · Tue Jun 02 03:10:45 GMT 2026

। हिमालपारिको विकट बस्ती चुमनुब्री गाउँपालिका–६, रिप्चेतमा सुत्केरी बेथाले थलिएकी एक महिलाको प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय युवाको सक्रियतामा उद्धार गरिएको छ ।
लामो समयसम्म बेथा लाग्दा पनि बच्चा जन्मिन नसकेपछि २५ वर्षीय पेमा लामालाई डोलीमा बोकेर चुम्लिङस्थित बर्थिङ सेन्टर पु¥याइएको हो । शनिबार राति १२ बजेदेखि सुत्केरी बेथा सुरु भएपछि परम्परा अनुसार पेमा घरबाट गोठमा बस्न जानुभयो,” उहाँका भाइ पेमा ग्यालजनले भन्नुभयो, “रातभर प्रयास गर्दा पनि बच्चा जन्मिन नसकेपछि रिप्चेत स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घरमै पुगेर सुत्केरी गराउने प्रयास गरे पनि अवस्था जटिल बन्दै गएपछि उद्धारको विकल्प खोजिएको हो ।” सुत्केरी बेथाले थलिएकी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास भए पनि निषेधित क्षेत्र र प्रतिकूल अवस्थाका कारण सम्भव नभएको उहाँले बताउनुभयो । त्यसपछि अस्थायी प्रहरी चौकी चुम्चेतका प्रहरी, स्वास्थ्यकर्मी र स्थानीय युवाले जोखिमपूर्ण पहाडी बाटो हुँदै पेमा लामालाई डोलीमा बोकेर बर्थिङ सेन्टर लगिएको भाइ ग्याल्जेनले जानकारी दिनुभयो । बुढीगण्डकीको गहिरो खोँचमा झरेर फेरि पनि उकालो चढ्नुपर्ने साँघुरो र भिरालो बाटोमा डेढ घण्टाभन्दा बढी समय लगाएर उहाँलाई बर्थिङ सेन्टर पु¥याइएको थियो । बाटोभरि स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दै र बिच बिचमा विश्राम गर्दै उद्धार कार्य सम्पन्न गरेका थिए ।
Read full story at source (gorkhapatraonline.com)