निर्वाचनमा खटिएका दुई जना कर्मचारीको मृत्यु, कोही घाइते भएर फिर्ता
abhiyandaily.com
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ ।
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिवार बिहान सुतिरहेको अवस्थामा र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको शुक्रवार उपचारका क्रममा निधन भएको हो ।
यस अघि जुम्लामा भएको सवारी दुर्घटनामा परी सुरक्षाकर्मीसहित ६ जना घाइते भएका थिए । घाइते कर्मचारीलाई फिर्ता बोलाएर उक्त ठाउँमा अरू कर्मचारी पठाइएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोगले नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आग्रह गरेको छ । रासस
Read full story at source (abhiyandaily.com)