ढोरपाटन आवातजावतमा सास्ती
baahrakhari.com · Tue Jul 21 09:24:28 GMT 2026

गण्डकी । ढोरपाटन आउने पर्यटकले आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो ।
“पानी पर्नासाथ पहिरो खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ,” वडाध्यक्ष घर्तीले भने, “यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो ।”