जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
dainikonline.com · Fri Jun 23 09:02:48 GMT 2023
0
Shares
आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ ।
पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, ‘यही बर्खामा काम नसके ठेकेदारको हिसाब विग्रन्छ ।’
शंखरापुरको जस्तै कथा गोकर्णेश्वरमा पनि देखिन्छ । मनसुन सुरु भएसँगै गोकर्णेश्वर नगरपालिका १ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हाल्यो तर त्यही रात ठुलो पानी परेपछि अलकत्रा बग्यो ।
जोरपाटी गोकर्ण सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रेको काम सुरु गरिए पनि बर्खा लागिसकेकाले स्थानीय दुःखी छन् । ‘आठ वर्षदेखि अलपत्र काम बल्ल सुरु भएको छ, त्यो पनि बर्खा लागेपछि गोकर्णेश्वर नगरपालिकाका मोहन घिमिरे भन्छन्, ‘पिच त हुने भयो तर कति दिन टिक्ने हो, कुनै ठेगान छैन ।’
संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन् । आर्थिक वर्ष २०७५/७६ मा सक्ने गरी २०७२ सालमा ठेक्का भएको सात किलोमिटर सडक आठ वर्षदेखि अलपत्र छ ।
Read full story at source (dainikonline.com)