चालु आर्थिक वर्षको साढे ९ महिनामा उठ्यो ५०.३४ प्रतिशत राजस्व, सरकारको बजेट घाटा २ खर्ब ३६ अर्ब
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्ष २०७९–८० को साढे ९ महिना समाप्त हुँदा सरकारी बजेट खर्च ५४.८३% मात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वैशाख १४ गतेसम्म सरकारले ९ खर्ब ८३ अर्ब ५१ करोड १९ लाख रुपैयाँ बराबर बजेट खर्च गरेको हो । यता, सोही अवधिमा कुल राजस्व आम्दानी भने ७ खर्ब ६ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ मात्र रहेको छ । यो सरकारले निर्धारण गरेको राजस्व लक्ष्यको ५०.३४% मात्रै हो ।
यता, महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार शुक्रबारसम्म सरकारले ७ खर्ब ४७ अर्ब आम्दानी गरेको छ । यस आधारमा हेर्ने हो भने आर्थिक वर्ष सकिन अब साढे २ महिना मात्र रहँदा सरकारको बजेट घाटा २ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार यो अवधिमा पुँजीगत तर्फ वार्षिक विनियोजनको ३०.६४% मात्र खर्च भएको छ भने चालुतर्फ वार्षिक विनियोजनको ६२.०९% खर्च भएको छ ।
पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर विनियोजन भएकोमा वैशाख १४ गतेसम्ममा १ खर्ब १६ अर्ब ५४ करोड ३६ लाख बराबर मात्रै खर्च भएको छ । चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा अहिलेसम्म ७ खर्ब ३४ अर्ब ६९ करोड २८ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।
Read full story at source (nepalipaisa.com)