घर-घरमा तुलसीको बिरुवा रोपियो
emountaintv.com · Sat Jul 25 06:30:51 GMT 2026
काठमाडौं । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन् । यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ–आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् । धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ ।
बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर–घरमा चहलपहल देखिएको छ । आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ । आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ । पुराणहरूका अनुसार भगवान विष्णु आजैका दिनदेखि चार महिनासम्म क्षीरसागरमा शयन गर्ने हुनाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । भगवान विष्णु शयन गर्ने यस अवधिमा मांगलिक कार्यहरू (विवाह, व्रतवन्ध आदि) नगर्ने र आध्यात्मिक साधना तथा जप–तपमा ध्यान केन्द्रित गर्ने शास्त्रीय मान्यता रहेको छ ।
Read full story at source (emountaintv.com)