विश्वव्यापी तापमान वृद्धिका कारण अफ्रिकाका ऊँटहरू संकटमा
emountaintv.com · Sat Jul 25 06:48:54 GMT 2026
संवाददाता , नरेन्द्र ज्ञवाली काठमाडौं । जलवायु परिवर्तनको तीव्र असरका कारण अफ्रिकाको सुख्खा क्षेत्र र त्यहाँको जनजीवनको मुख्य आधार मानिने ‘मरुभूमिको जहाज’ अर्थात् ऊँटहरू गम्भीर संकटमा परेका छन । कठोर मरुभूमि, चर्को गर्मी र पानीको अभावमा पनि सहजै बाँच्न सक्ने अद्वितीय क्षमता भएको यो प्राणी अचेल विश्वव्यापी तापमान वृद्धिको चपेटामा पर्न थालेको छ । हालै सार्वजनिक भएका विभिन्न वातावरणीय तथा पशु स्वास्थ्य प्रतिवेदनहरूका अनुसार अफ्रिकी मुलुकहरूमा ऊँटहरूमा गर्मीजन्य तनाव, नयाँ रोगहरूको प्रकोप, उत्पादनमा गिरावट र अकास्मिक मृत्युको दर डरलाग्दो गरी बढेको छ ।पूर्वी र उत्तर अफ्रिकी देशहरू सोमालिया, केन्या, इथियोपिया र सुडानमा ऊँटपालन ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षाको मुख्य खम्बा हो । तर, पछिल्ला वर्षहरूमा यी क्षेत्रहरूमा परिरहेको गम्भीर खडेरी र अनपेक्षित रूपमा बढेको तापमानले ऊँटको शारीरिक प्रणालीलाई नै खलबलाइदिएको छ । वैज्ञानिकहरूका अनुसार अत्यधिक गर्मी र ‘लु’ का कारण ऊँटहरूमा ‘हिट स्ट्रेस’ देखिन थालेको छ । जसले गर्दा सधैं धैर्यवान् देखिने यो जनावर अचेल डिहाइड्रेसन र मानसिक तनावको शिकार भइरहेको छ ।
तापमान वृद्धिसँगै मौसममा आएको अस्वभाविक परिवर्तनले गर्दा अफ्रिकाका चरन क्षेत्रहरूमा नयाँ–नयाँ हानिकारक परजीवी, ब्याक्टेरिया र भाइरसहरू सक्रिय भएका छन । विशेष गरी टिक अर्थात उकुस र झिंगाहरूको संख्यामा भएको वृद्धिले ऊँटहरूमा ‘ट्राइपैनोसोमियासिस’ जस्ता घातक र संक्रामक रोगहरू फैलाएको छ । खडेरीका कारण पोषिलो घाँस र सफा पानी नपाउँदा ऊँटहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको छ, जसले गर्दा सामान्य संक्रमणले पनि महामारीको रूप लिने गरेको छ । यस वातावरणीय संकटको सीधा असर ऊँटको उत्पादन क्षमतामा परेको छ । मरूभूमिको दुर्गम क्षेत्रमा नवजात शिशु र परिवारका लागि ऊँटको दूध नै मुख्य आहार र आम्दानीको स्रोत हो । सबैभन्दा चिन्ताजनक विषय त के छ भने, चरन क्षेत्रमा हिँड्दाहिँड्दै ऊँटहरू अचानक ढल्ने र अकास्मिक मृत्यु हुने घटनाहरू बढेका छन् ।
Read full story at source (emountaintv.com)