८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्यो हजारौं रोजगारी कटौतीको तयारी
bizmandu.com · Mon Nov 07 04:39:33 GMT 2022
फेसबुकको मूल कम्पनी मेटाले हजारौं रोजगारी कटौती गर्ने तयारी गरिरहेको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीका बीचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य गुमाएपछि रोजगारी कटौती गर्ने तयारी गरिरहेको हो।
रोजगार कटौतीको घोषणा बुधबार गरिने वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ। यसबाट विश्वव्यापी रूपमा मेटाका ८७ हजार कर्मचारीमध्ये हजारौं प्रभावित हुने अनुमान छ।
मेटाले उक्त रिपोर्टको पुष्टि गर्न अस्वीकार गरे पनि एक प्रवक्ताले मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले गत महिनाको अन्त्यमा गरेको टिप्पणीलाई औंल्याएका छन्।
‘२०२३ मा, हामी हाम्रो लगानीलाई उच्च प्राथमिकताको क्षेत्रमा थोरै संख्यामा केन्द्रित गर्नेछौं,’ उनले भने, ‘त्यस अर्थ केही टोलीहरू अर्थपूर्ण रूपमा बढ्नेछन्, तर धेरै अन्य टोलीहरू स्थिर रहनेछन् वा आगामी वर्षमा संकुचित हुनेछन्। समग्रमा, हामी २०२३ को अन्त्यसम्ममा कि त लगभग उस्तै आकारको वा हालको भन्दा अलिकति सानो संगठन हुनेछौं।’
जुकरबर्गले कम्पनीको लक्ष्य इन्स्टाग्राम रिल्स, विज्ञापन र यसको मेटाभर्स अन्वेषणको प्रवर्द्धन हुनेगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा केन्द्रित हुने बताएका छन्।
कम्पनीको मेटाभर्स डिभिजन, रियालिटी ल्याब्सले विगत तीन महिनामा ३.७ अर्ब डलर घाटा ब्यहोरेको मेटाको रिपोर्टमा उल्लेख छ। र, यी घाटाहरू २०२३ मा पनि उल्लेखनीय रूपमा बढ्ने कम्पनीले बताएको छ।
तर, कम्पनीका ‘प्रयोगात्मक बाजी’ले आगामी वर्षहरुमा मुनाफा कमाउनेमा आफू विश्वस्त रहेको जुकरबर्गले बताएका छन्। ‘समयको साथमा हाम्रो व्यवसायको भविष्यको लागि यो धेरै महत्त्वपूर्ण लगानी हुनेछन्,’ उनले भनेका छन्।
Read full story at source (bizmandu.com)