प्रदेश सरकारद्वारा तीन करोड सहयोग
gorkhapatraonline.com · Sun Aug 30 03:57:04 GMT 2026

बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ । तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनलाई सहयोग रकम उपलब्ध गराउने भएको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपत् व्यवस्थापन कोषमा दुई करोड, धादिङ र चितवन जिल्लालाई ५०/५० लाख गरी तत्कालका लागि तीन करोड उपलब्ध गराइने जानकारी दिनुभयो ।
भदौ १० गते बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेसँगै विपत्बाट प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकार तत्कालै परिचालित भएको बताउनुभयो । प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रतिमृतक २५ हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ । मन्त्री केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्यसेवाका लागि टोली परिचालन गरिएको बताउनुभएको छ । बाढीका कारण घाइते भएका नागरिकको तत्काल उद्धारका लागि मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रमुख सचिवसहितका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी स्थलगत रूपमा खटिएको र बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि अस्थायी बसोबास तथा भोजनको व्यवस्था गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (gorkhapatraonline.com)