बाह्र वटा पक्की पुल बन्ने
gorkhapatraonline.com · Sun Aug 30 04:15:59 GMT 2026

सडक विभागले हुम्लाका कर्णाली नदी र अन्य सहायक नदीमा १२ वटा नयाँ पक्की पुल निर्माण गर्ने भएको छ । सडक सञ्जालसँग नजोडिएको दुर्गम ठाउँका अति आवश्यक गाउँमा पुल बन्न लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । यी पुल निर्माणका लागि सडक विभागबाट तत्काल आवश्यक फाइल पेस गर्न निर्देशन आएपछि बाटो खुलेको उहाँले जनाउनुभयो । हाल कर्णाली नदीमा पुल निर्माण नभएका कारण गाउँपालिकाले सडक निर्माण गरेको भए पनि यातायातका साधन सञ्चालन हुन सकेको छैन ।
प्रमुख नेपालीका अनुसार अदानचुली गाउँपालिका–६ को पाल्सगाउँ जोड्ने कालागाड पुल, सिमकोट गाउँपालिका–८, खोल्सी याङ्गु जोड्ने गुरगुरेर पुल, नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तिल्जुङखोला पुल, लिमी तुम्लिङको लिङखोला पुल, नाम्खा गाउँपालिका–५ र ६ जोड्ने बुम्वेखोला पुल, लिमीको लाप्चाखोला पुल, नाम्खा गाउँपालिका–४ को याल्वाङ पुइया जोड्ने कर्णाली नदीको पुल, सर्केगार्ड गाउँपालिकाको केन्द्रको पुल, खार्पुनाथ गाउँपालिका–१ र २ जोड्ने कर्णाली नदीको पुल, खार्पुनाथ गाउँपालिका केन्द्रबाट वडा नं. ४ जोड्ने याङचुवगरको कर्णाली पुल, हुम्ला र मुगु जोड्ने नेरघाटको कर्णाली नदीको पुल र नाम्खा गाउँपालिका–३ को खगलगाउँ जोड्ने कर्णाली नदीमाथिको पुल रहेका छन् । यी नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), लागत इस्टिमेट तयारीको कार्य सुरु गरिने उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)