डा. केसी पक्ष र सरकारका प्रतिनिधिबीच धनगढीमा वार्ता जारी
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाडौँ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिहरूबीच औपचारिक वार्ता जारी छ। प्रधानमन्त्री वालेन्द्र साहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको सरकारी टोलीले डा. केसीका प्रतिनिधिद्वय डा. अमृत जैसी र पवन थापासँग अस्पतालमै छलफल गरिरहेको शिक्षा सचिव पौडेलले जानकारी दिएका छन्।
पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँबाट निस्कने निष्कर्षका आधारमा डा. केसीसँगै प्रत्यक्ष थप वार्ता हुने बताइएको छ। विभिन्न पाँचबुँदे माग अघि सार्दै गत बिहीबारदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी राखिएको छ।
Read full story at source (hamrakura.com)