एमबिएस परीक्षा विवाद : त्रिवि र प्रहरीको छुट्टाछुट्टै अनुसन्धान
barnanmedia.com · Mon Jul 27 00:50:58 GMT 2026

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गतको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) को परीक्षाका विषयमा विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेको छ ।
शुक्रबार भएको एमबिएस प्रथम सत्रको ‘एमजिटी ५१५ अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटमै बाहिरिएको थियो । यसलाई परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको रूपमा व्याख्या गर्दै त्रिविको सर्वत्र आलोचना भइरहेको छ । यद्यपि यस विषयमा त्रिवि र नेपाल प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । प्रश्नपत्रका विषयमा अध्ययन गर्न त्रिविले आइतबार व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा त्रिवि अनुगमन निर्देशनालयका सहनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहनुभएको छ । उक्त समितिलाई छानबिन गरेर सत्यतथ्य निरूपण गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको त्रिविका रजिस्ट्रारसमेत रहेका व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसेले जानकारी दिनुभयो । प्रश्नपत्रका सम्बन्धमा उठेका विषयलाई त्रिविले गम्भीरतासाथ लिएको बताउँदै चालिसेले दोषीलाई कडा कारबाही गरिने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)