शेयर बजारमा नेपालीको बढ्दो आकर्षणः ८० लाख पुग्यो डिम्याट खाताको संख्या
emountaintv.com · Mon Jul 27 12:32:13 GMT 2026
सुसन धमला, संवाददाता काठमाडौं । केही वर्षअघिसम्म शेयर कारोबार सीमित व्यक्तिमा केन्द्रित थियो । तर अहिले गाउँदेखि शहरसम्म, विद्यार्थीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म, लाखौं मानिस शेयर बजारसँग जोडिएका छन् । नेपालको शेयर बजारमा पछिल्ला केही वर्षयता आएको परिवर्तन भनेको डिजिटलीकरण हो । कुनै बेला शेयर किनबेच गर्न कागजी प्रमाणपत्र बोकेर कार्यालय धाउनुपर्ने अवस्था थियो । शेयर हराउने, च्यातिने, नामसारीमा ढिलाइ हुने र कारोबार सम्पन्न हुन हप्तौं लाग्ने समस्या थियो । तर अहिले अवस्था बदलिएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा हालसम्म ८० लाख ९ हजार ६ सय २३ वटा डिम्याट खाता खुलिसकेका छन् । डिम्याट भनेको शेयर तथा अन्य धितोपत्रलाई कागजी प्रमाणपत्रको सट्टा विद्युतीय रूपमा सुरक्षित राख्ने प्रणाली हो । जसरी बैंकमा पैसा राख्न बैंक खाता आवश्यक पर्छ, त्यसरी नै शेयर राख्न डिम्याट खाता अनिवार्य हुन्छ । नेपालमा पछिल्ला वर्षहरूमा प्राथमिक शेयर अर्थात् आईपीओ प्रति बढेको आकर्षणले पनि डिम्याट खाता खोल्ने संख्या तीव्र रूपमा बढाएको देखिन्छ ।
धेरै कम्पनीहरूले आईपीओ जारी गरेसँगै लाखौं नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका छन् । तर नेपालमा एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था छ । कसैले बैंक परिवर्तन गर्दा अर्को खाता खोलेका छन् । कतिपयले सुविधा वा सेवा परिवर्तनका कारण नयाँ डिम्याट खाता खोलेका छन् । यही कारण कुल खाताको संख्या बढेको हुनसक्ने विश्लेषण गरिएको छ । सीडीएससीका अनुसार हाल मेरो शेयरका सक्रिय प्रयोगकर्ता भने ५१ लाख ४८ हजार ८ सय ९४ मात्रै छन् । यसको अर्थ करिब २९ लाख डिम्याट खाता अहिले निस्क्रिय रहेका छन् । यी खातामा कुनै कारोबार नभएको, लगानीकर्ताले प्रयोग नगरेको वा पुराना खाता छाडेर नयाँ प्रयोग गरिरहेको हुन सक्छ । कोभिड महामारीताका शेयर बजारमा आएको तीव्र उत्साहपछि धेरै नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका थिए । त्यतिबेला आईपीओका लागि मात्रै डिम्याट खाता खोल्नेहरूको संख्या उल्लेखनीय थियो । तर बजारमा गिरावट आएपछि धेरै साना लगानीकर्ताले कारोबार नै बन्द गरेका छन् । कतिपय खातामा एक पटक आईपीओ परेपछि पुनः कुनै कारोबार भएको छैन । अर्कोतर्फ, अझै पनि नेपालको सम्पूर्ण शेयर डिजिटल प्रणालीमा आउन सकेको छैन ।
Read full story at source (emountaintv.com)