दक्षिण कोरियास्थित अमेरिकी सैन्य आधारमा ‘सेतो फस्फोरस’ चुहावट, स्थानीयलाई शतर्क रहन आग्रह
emountaintv.com · Wed Jul 29 04:08:53 GMT 2026
दक्षिण कोरियाको प्योङटेकस्थित अमेरिकी सैन्य आधार ‘के–५५’ (ओसान एयर बेस) मा मंगलवार ‘सेतो फस्फोरस’ (ह्वाइट फस्फोरस) चुहावट भएको छ । राजधानी सियोलबाट करिव ६५ किलोमिटर दक्षिणमा अवस्थित उक्त सैन्य आधारमा रासायनिक चुहावट भएपछि स्थानीय प्रशासनले आसपासका बासिन्दाहरूलाई आपतकालीन सतर्कता जारी गरेको छ । योनहाप समाचार एजेन्सीकाअनुसार स्थानीय समय अनुसार मंगलबार बेलुका ५ः०७ बजे उक्त आधार शिविरमा फस्फोरस चुहावट भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । घटनालगत्तै प्योङटेक नगरपालिकाले स्थानीय बासिन्दाहरूलाई मोबाइल सन्देश पठाउँदै सुरक्षित स्थानमा रहन र छालाको सम्पर्कबाट जोगिन आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यम ‘चोसुन इल्बो’का अनुसार यस घटनाबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । सेतो फस्फोरस एक अत्यधिक विषाक्त र प्रज्वलनशील रासायनिक पदार्थ हो, जुन हावाको सम्पर्कमा आउनासाथ आफैँ बल्ने गर्दछ । छालाको सम्पर्कमा आएमा यसले गम्भीर जलन र शारीरिक तन्तुहरूमा ठूलो क्षति पु¥याउन सक्छ । उक्त घटना कसरी र के कारणले भयो भन्नेबारे दक्षिण कोरियाली प्रहरी, दमकल विभाग र सैन्य अधिकारीहरूले संयुक्त अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् । ओसान एयर बेस दक्षिण कोरियामा अमेरिकी सेनाको एक प्रमुख आधार क्षेत्र मानिन्छ ।
Share this:
Read full story at source (emountaintv.com)