देवानगञ्जको झडपपछि उठेको सभ्यताको प्रश्न
nepalviews.com · Wed Jul 29 06:27:53 GMT 2026

सुनसरीको देवानगञ्जमा घटेको हिन्दु–मुस्लिम झडपलाई यदि हामीले केवल एउटा स्थानीय विवाद वा क्षणिक उत्तेजनाको परिणाम मानेर सीमित गरिदियौँ भने त्यसबाट पाउनुपर्ने सबैभन्दा ठूलो शिक्षा गुमाउनेछौँ । यो एउटा गाउँको मात्र समस्या होइन; यो नेपाल, दक्षिण एसिया र क्रमशः विश्वव्यापी रूपमा देखिँदै गएको गहिरो सभ्यतागत सङ्कटको स्थानीय अभिव्यक्ति हो । प्रश्न 'देवानगञ्जमा किन झडप भयो' भन्ने मात्र होइन; प्रश्न यो हो - सदियौँसम्म एउटै चौतारीमा सुख-दुःख साट्ने, एउटै बजारमा व्यापार गर्ने, एकअर्काका चाडपर्वमा सहभागी हुने छिमेकीहरू आज किन धर्मको नाममा आमनेसामने उभिन थाले ?
यसको उत्तर प्रशासनिक कमजोरी वा सामाजिक सञ्जालको दुरुपयोगमा मात्र सीमित रहँदैन । मूल समस्या अझ गहिरो छ, समाजले संवादको संस्कृति गुमाउँदै गएको छ, र त्यसको ठाउँ एकरूपता, निरपेक्ष सत्यको आग्रह र पहिचानको ध्रुवीकरणले लिँदै गएको छ । यस्तो सङ्कट नेपालको मात्र होइन, पछिल्ला दुई दशकमा भारत, म्यानमार, श्रीलङ्का र युरोपका धेरै समाजले उस्तै किसिमको साम्प्रदायिक ध्रुवीकरण भोगेका छन्, जहाँ सदियौँदेखिको सहअस्तित्व केही घण्टाको हिंसाले नै भत्किएको इतिहास छ । यसैले देवानगञ्ज हाम्रो सामाजिक चेतना, राजनीतिक संस्कार र सभ्यतागत दिशाबोधमाथि उठेको गम्भिर प्रश्न बनेको छ, र यसको उत्तर खोज्नु केवल एउटा घटनाको छानबिन होइन, आफ्नै सभ्यताको आत्मसमीक्षा हो ।
Read full story at source (nepalviews.com)