आगो निभाउने उपाय भाइचारा
annapurnapost.com · Fri Jul 31 01:21:02 GMT 2026

सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा गत आइतबार नहुनुपर्ने घटना भयो। त्यसले हिंसात्मक रूप लिँदै मधेसका अन्य जिल्ला र देशका विभिन्न भूभागमा तनावको खतरा बढाएको छ। अब पनि यसको समयमा सही सम्बोधन नहुने हो भनी अवस्था अनियन्त्रित हुन सक्छ। र, हिंसा बढेर थप जनधनको क्षति हुने पक्का छ। ढिलो गरी भए पनि सरकारले आगो सरी सल्किन लागेको धार्मिक र जातीय द्वन्द्वलाई हल गर्ने प्रयास गरेको छ। यसमा पर्याप्त सुझबुझ र बुद्धिमत्ता प्रयोग गरी समाजलाई शान्ति र सद्भावको बाटोमा हिँडाउनु हामी सबैको पहिलो र साझा कर्तव्य हुन आएको छ।
हाम्रो मुलुकको शक्ति र सम्पत्ति भनेकै विविधतामा एकता हो। जहाँ सबै जातजाति, भाषाभाषी, विभिन्न धार्मिक सम्प्रदाय एकापसमा हाँसीखुसी, हातेमालो गरेर यो सम्पत्तिलाई बचाइराखेको गौरवपूर्ण इतिहास छ। वर्तमान छ र भविष्यमा पनि रहनेछ। यही अन्तर्य कमजोर हुनु वा भताभुंग हुनु भनेको अनिष्ट निम्त्याउनु हो। सबै जातजाति, भाषाभाषी, सम्प्रदायको एकमुष्ट नाम नेपाली हो। सबै अट्ने र ओत लाग्ने घरको नाम नेपाल हो। त्यही कारण तराई मधेसमा हुने हिंसाको आँसु हिमाल र पहाडमा समेत बग्छ। पहाडी र हिमाली क्षेत्रमा उत्पन्न तनावको पिरलो तराई मधेसले खेप्छ। आज कुनै निश्चित भूमागमा देखिएको हिन्दु, मुस्लिम समुदायबीचको हिंसात्मक द्वन्द्व यही कारण चाँडै हल हुनुपर्छ। समाधन खोजिनुपर्छ। यसमा विलम्ब भए नेपाल र नेपालीको विश्वभर इतिहासदेखि कायम रहेको परिचयमा आँच आउन सक्छ। यो बाटोतिर मुलुकलाई हिँडाउन कदापि दिनुहुँदैन।
Read full story at source (annapurnapost.com)