सुरक्षित शव व्यवस्थापन
gorkhapatraonline.com · Mon Aug 31 00:05:01 GMT 2026

भोटेकोशी हिमबाढीमा परी मृत्यु भएकाको शव तत्काल सनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ । मृत मानव अङ्गलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको जनाइएको छ ।
कतिपय शव सग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठुलो सङ्ख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले कानुनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रत्येक शवको तस्बिर, हुलिया, शरीरमा रहेका विशेष चिह्न, फरेन्सिक विवरण र डिएनए नमुना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन । भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमिनमुनि सुरक्षित व्यवस्थापन गर्न लागिएको हो ।” उहाँले शव फेला परेको स्थान, अवस्था र छुट्टै कोड नम्बरसमेत अभिलेख राखिने भएकाले बर्सौंपछि पनि आफन्तले दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी बुझाउन सकिने बताउनुभयो । यस्तो अभ्यास अन्य विकसित मुलुकमा पनि रहेको उहाँको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)