मतदान केन्द्र कब्जा गर्न खोज्नेलाई तत्काल कारबाही, निष्पक्ष र भयमुक्त वातावरण निर्वाचन हुन्छ
abhiyandaily.com
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्र कब्जा गर्न खोज्नेलाई तत्काल कारबाही हुने बताएका छन् ।
उनले निष्पक्ष र भयमुक्त वातावरण निर्वाचन हुने बताउँदै मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारी अवरोध पुर्याउनेलाई कानून बमोजिम कारबाही गर्नका लागि आवश्यक निर्देशन दिइएको जानकारी दिए ।
साथै उनले निर्वाचन आयोगले मतदाताको बाटो वा गौडा छेक्ने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्नेलाई कानून अनुसार कारबाही गर्न पनि निर्देशन दिएको पनि बताए ।
उनले मंसिर ४ गते आइतवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।
आयोगमा शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत् उनले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।
उनले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन आग्रह गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा कानून पालनामा आयोगले विशेष सजगता अपनाएको बताए ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको उनको भनाइ छ ।
यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको उनको भनाइ छ ।
सरकारले आयोगको सिफारिससमेतका आधारमा यही मङ्सिर ४ र ५ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
Read full story at source (abhiyandaily.com)