बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
emountaintv.com · Mon Aug 03 05:31:25 GMT 2026
नेपाली खेलकुदमा मार्सल आटर््स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एशियाली खेलकुदका प्रतिष्पर्धामा मार्सल आटर््स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आटर््स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ । जुन खेलको शुरुवात थाइल्याण्डबाट भएको हो । विश्वप्रसिद्ध एक्शन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दैछ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो÷एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए । यो नै सबभन्दा ठूलो सफलता हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराजस्तै पछिल्ला समय व्यवसायिक रूपमा मात्र नभई आफ्नो शरीर स्वस्थ राख्न पनि युवाहरू यस खेलप्रति आकार्षिक हुँदै आएका छन् । सन् २०१० मा गणेशलाल कक्षपतीले थाइल्याण्डमा भएको सातौं मुवाँथाई विश्व च्याम्पियनसिप खेलेका थिए ।
त्यो खेलपछि नै कक्षापतीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता प्रक्रिया शुरु गरेपछि यस खेलको वैधानिक रूपमा सुरुआत भएको हो । हाल उनै कक्षापती नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष छन् । पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक र संघका अध्यक्षसमेत रहेका कक्षापतीले २०५४÷५५ सालदेखि नै यो खेल नेपाल खेलिँदै आएको बताए । त्यतिबेला सेल्फ डिफेन्सका रूपमा यो खेल सुरु भए पनि २०१० पछि वैधानिक रूपमा खेल संघ स्थापना गरी शुरुवात गरिएको बताए । फेन्सी ट्याइपको कम्ब्याट स्पोटर््स भएकाले नै पछिल्ला समय युवाहरूमाझ लोकप्रिय बन्दै आएको उनको बुझाइ छ । मार्सल आटर््सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि शुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।
Read full story at source (emountaintv.com)