युगान्डाका फुटबलर डेभिड ओवोरीको निधन
ratopati.com · Thu Aug 06 07:46:30 GMT 2026
काम्पाला । युगान्डाका चर्चित फुटबल खेलाडी तथा एससी भिल्लाका कप्तान डेभिड ओवोरीको लुटपाटको क्रममा भएको हिंसात्मक आक्रमणपछि निधन भएको छ । स्थानीय प्रहरीका अनुसार मंगलबार राजधानी कम्पालामा ओवोरीमाथि संदिग्ध लुटेराहरूको समूहले आक्रमण गरेको थियो । प्रारम्भिक अनुसन्धानअनुसार लुटेराहरूले उनको सामान लुट्ने प्रयास गर्दा उनले प्रतिरोध गरेका थिए । त्यसपछि आक्रमणकारीहरूले उनीमाथि हिंसात्मक हमला गरेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार हमलाकारीहरूले ढुंगाले प्रहार गर्दा ओवोरी गम्भीर रूपमा घाइते भएका थिए । आक्रमणपछि उनी घटनास्थलमै अचेत अवस्थामा भेटिएका थिए भने लुटेराहरू उनको सामान लिएर फरार भएका थिए । स्थानीय बासिन्दाले उनलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि कम्पालास्थित एक निजी अस्पतालमा रेफर गरिएको थियो। चिकित्सकहरूले उनको ज्यान बचाउन प्रयास गरे पनि उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
Read full story at source (ratopati.com)