सहकारीको अनुदान हिनामिनामा मुछिए दुई तहका सरकार
nepalnews.com · Thu Aug 06 16:34:14 GMT 2026

सुर्खेत। रुकुम पश्चिमको एउटा सहकारी संस्थाले लिएको अनुदान दुरुपयोगमा दुई तहका सरकार मुछिएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आठबिसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई अनुदान उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आठबिसकोट नगरपालिका मुछिएका हुन्। दुवै निकायका कर्मचारी र पदाधिकारीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पशु सेवा कार्यालय रुकुम पश्चिमले योग्यता नपुगेको उक्त सहकारीको गलत मूल्यांकन गराएर अनुदान उपलब्ध गराएको र आठबिसकोट नगरपालिकाले प्रदेशकै अनुदान दुरुपयोग गरिरहेको सहकारीलाई थप अनुदान उपलब्ध गराएको देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको ९१ लाख १७ हजार ८७३ रुपैयाँ लिई अनुदान लिई दुरुपयोग गरेको उक्त सहकारीलाई आठबिसकोट नगरपालिकाले थप ८० लाख २३ हजार ५१ रुपैयाँ थप अनुदान दिएको खुलेको छ।
Read full story at source (nepalnews.com)