नेपाली सेनाले गर्यो १०१ विदेशी सहित ६९६ जनाको हवाई उद्दार
gorkhapatraonline.com · Thu Aug 27 16:00:33 GMT 2026

रसुवामा आएको बाढीका कारण प्रभावितको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा विहीबार बिहानदेखि बेलुकी सात बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाबाट १०१ विदेशी सहित ६९६ जनाको हवाई र २०० जनाको जमिनी उद्धार गरिएको छ। वीरेन्द्र सैनिकअस्पतालबाट खटिएको मेडिकल अधिकृत सहितको टिमबाट त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ३५४ र फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टिमबाट धुन्चे इलाकामा ५४६ गरी जम्मा ९०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डगको समेत प्रयोग गरी रसुवा तथा नुवाकोटमा ४ हजार २ सयभन्दा बढी र नुवाकोटदेखि चितवनसम्म १२०० बढी नेपाली सेनाको फौजले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरिरहेको छ। साथै, पृथ्वी राजमार्गमा जमेको लेदो सफा गरी सडक सुचारु गर्न र बाढी प्रभावित जिल्लाहरूमा शव उद्धार गर्ने कार्यमा समेत फौज खटिएको छ। शुक्रबार नदी किनारामा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपत्कालीन उपचारको निरन्तरता, मैलुङ्ग, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिँदै आसपास रहेका टनेलहरूमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार र त्रिशूली- धुन्चे सडक सुचारु गर्ने कार्यको लागि खटिने योजना रहेको नेपाली सेनाले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)