चितवनमा खुल्यो ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’, एक अर्ब लगानी
nepalhomes.com · Sun Oct 16 05:58:09 GMT 2022
चितवन- चितवनको पटिहानीमा रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ होटल सोल्टी समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ ।
सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुने भएको हो । भरतपुर महानगरपालिका-२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ। सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारी दिए ।
सोल्टीको पहिलो द सोल्टी काठमाडौँ, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् ।
उनका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताए। नेपालका अन्य पर्यटकीयस्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उनले जानकारी दिए ।
पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका विभिन्न व्यवसायीको एक अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो। रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो । रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन्। यीबाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन् ।
पाँच सय जना अट्ने एउटा, एक सय ५० जना अट्ने दुई, ७५ जना अट्ने तीन र २५ जना अट्ने दुई हलसमेत छन् । रेष्टुरेन्टमा एकपटकमा तीन सय जनाले बसेर खान सक्ने सुविधा छ। छुट्टै दुई सय ५० जना अट्ने सुविधासम्पन्न बार पनि छ। यससँगै हेल्थ क्लब रहने छ ।
बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ। पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ। टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ ।
धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्ज भित्र जीप सफारी, पैदल यात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उनको भनाइ छ ।
यस सँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उनले बताए। शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ । रासस
Read full story at source (nepalhomes.com)