युद्धको समयमा स्वास्थ्य आवश्यकताहरूको पूर्ति गर्नु चुनौतीपूर्ण थियोः इरानी विदेशमन्त्री
emountaintv.com · Wed Aug 12 04:24:59 GMT 2026
इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले अमेरिका र इजरायलसँगको युद्धका क्रममा देशको स्वास्थ्य सेवाका आवश्यकताहरू पूरा गर्नु परराष्ट्र मन्त्रालयका लागि सबैभन्दा चुनौतीपूर्ण कार्यहरूमध्ये एक रहेको बताउनुभएको छ । राजधानी तेहरानमा आयोजित एक विशेष समारोहमा विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच युद्धका क्रममा क्षतिग्रस्त भएका पूर्वाधारहरूको पुनर्निर्माणमा सहयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । इरानी स्टुडेन्ट्स न्युज एजेन्सीकाअनुसार उक्त समारोहमा विदेशमन्त्री आराघचीले युद्धको कठिन समयमा औषधि तथा चिकित्सा उपकरणहरूको खरिद र आपूर्ति सुनिश्चित गर्न आफ्नो मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग निकट रहेर काम गरेको उल्लेख गर्नुभयो । गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको राजधानी तेहरान लगायतका अन्य सहरहरूमा संयुक्त सैन्य आक्रमण गरेका थिए । सो आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य कमान्डरहरूको मृत्यु भएको थियो । उक्त आक्रमणको प्रतिवादस्वरूप इरानले इजरायल र त्यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी श्रृङ्खलाबद्ध मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । यसै वर्षको जुन महिनामा इरान र अमेरिकाबीच लेबनान लगायतका सबै मोर्चाहरूमा जारी युद्ध अन्त्य गर्ने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसार ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता गर्ने तय भएपनि यस क्षेत्रमा पछिल्लो समय विकसित तनाव र द्वन्द्वका कारण प्रश्तावित वार्ताको भविष्य भने हाल अनिश्चित बनेको छ ।
Share this:
Read full story at source (emountaintv.com)