खर्चको डर देखाएर अवसर नगुमाऔं
annapurnapost.com · Wed Aug 12 05:48:00 GMT 2026

नेपालको विकास इतिहासमा पूर्व–पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्ग, केवल एउटा सडक आयोजना होइन। यो कम स्रोत भएको देशले ठूलो सपना कसरी देख्न सक्छ, त्यो सपना कसरी टुक्रा–टुक्रा गरेर पूरा गर्न सक्छ र राष्ट्रिय प्राथमिकता स्पष्ट भए असम्भव देखिएको परियोजना पनि सम्भव हुन्छ भन्ने ऐतिहासिक प्रमाण हो। आज नेपालले जलविद्युत्, सुरुङमार्ग, रेलमार्ग, सिँचाइ, रासायनिक मल कारखाना, प्राकृतिक ग्यास, औद्योगिक करिडोर र डिजिटल पूर्वाधारजस्ता ठूला आयोजना अघि सार्नुपर्ने बेला आएको छ।
तर प्रश्न उही छ, स्रोत सीमित भएको देशले अर्बौं–खर्बौं खर्च लाग्ने आयोजना कसरी पूरा गर्ने ? यसको उत्तर खोज्दा महेन्द्र राजमार्ग एउटा बलियो मोडेलका रूपमा अगाडि आउँछ। आर्थिक वर्ष २०२०/२१ को बजेट वक्तव्य हेर्दा त्यतिबेलाको नेपालको आर्थिक हैसियत अत्यन्त सीमित देखिन्छ। सरकारको राजस्व अनुमान करिब १३ करोड ६९ लाख रुपैयाँमात्र थियो। कुल खर्च करिब २९ करोड ५४ लाख रुपैयाँ र विकास खर्च करिब १८ करोड ९ लाख रुपैयाँ थियो। यस्तो सानो राजस्व भएको देशले पूर्वदेखि पश्चिमसम्म फैलिने, अन्ततः एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने राजमार्गको सपना देख्नु साधारण प्रशासनिक निर्णय थिएन। त्यो राष्ट्रिय दृष्टि, राजनीतिक इच्छाशक्ति र दीर्घकालीन विकास चेतनाको परिणाम थियो।
Read full story at source (annapurnapost.com)