दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु - सञ्चारमन्त्री डा. तिमिल्सिना
arthasansar.com · Fri Aug 14 10:03:58 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। आज सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उनले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको उल्लेख गर्दै सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताए।
सो छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिए। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको उल्लेख गर्दै उनले अब कामको परिणाम देखिनुपर्ने बताए। सञ्चारमन्त्रीले डा तिमिल्सिनाले एकातर्फ दुर्गम र कतिपय सहरी क्षेत्रमै पनि नागरिकले टेलिफोन तथा इन्टरनेटको राम्रो सुविधा पाउन नसकेको तर अर्कोतर्फ ग्रामीण दूरसञ्चार विकासका लागि संकलन हुँदै आएको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रुपमा खर्च हुन नसकेको बताए। नागरिकबाट संकलित रकम नागरिककै सेवा विस्तारमा खर्च हुनुपर्ने उल्लेख गर्दै उनले दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारका लागि आरटिडिएफको प्रभावकारी परिचालन गर्न निर्देशन दिए।
Read full story at source (arthasansar.com)