भारतले महाकालीको वहाव दार्चुलातर्फ फर्काउदै, अति गरेपछि स्थानीयद्वारा ढुगां प्रहार
mahendranagarpost.com · Tue Mar 08 13:22:19 GMT 2022
दार्चुला – दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि स्थानीयबीच ढुंगा हानाहान भएको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्काभेटर चलाएर वहाव परिवर्तन गर्न थालेपछि दुबै देशका नागरिकका बीचमा मंगलवार ढुंगा हानाहान भएको प्रत्यक्षदर्शी भोजराज जोशीले बताउनुभयो ।
महाकाली नदीको बहाव सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समेत स्वीकार गर्नुभयो । नेपाली प्रशासनसँग समन्वय नै नगरी संरचना निर्माण गरिरहेको भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन् गरेको प्रजिअ उपाध्यायले बताउनुभयो ।
नदीबाट ढुगां, बालुवा, टिट्टी उत्खनन गरेर भारतले आफुखुसी सीमा क्षेत्रमा तटबन्ध बनाउन थालेपछि ढुंगा हानाहान भएको हो । उहाँले भन्नुभयो, महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरेको भन्दै स्थानीयले ढुंगा हानेका हुन्, त्यसपछि उताबाट पनि ढुंगा आए ।
दुबै तर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरवितर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले ढुंगा हान्ने कार्य रोकिएको छ, उनीहरुले स्काभेटर फिर्ता लगेका छन्, प्रजिअ उपाध्यायले भन्नुभयो, भारतीय समकक्षीले फोन गरेका थिए, उनीहरुलाई तपाईहरुले समन्वय नगर्नुको परिणाम हो भनेका छौं, समन्वय गरेर मात्रै काम गर्नुहोस् भनेका छौं ।
भारतीय पक्षले पुरानो बाधेको तटबन्धसंगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाई र १० मिटर उचाईको तटबन्ध निर्माण गरिरहेको बताइएको छ । तटबन्ध निर्माणसंगै झोलुंगे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय खडक प्रकाश बडालले बताउनुभयो ।
महाकाली हामीतिर फर्काउने संरचना यसअघि नै बनेका छन् । वर्षातमा नदीमा पानीको बहाव बढी भएका बेला नदी हाम्रोतिर आउँछ, महाकाली नगरपालिका–४ का स्थानीय रामदत्त भट्टले भन्नुभयो, अझै भारतले तटबन्ध बनाइरहेकाले यो क्रम बढ्ने जोखिम छ ।
अन्तराष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाइँदैन । तर दार्चुलामा भने नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने किसिमले आफुखुसी पक्की तटबन्ध निर्माण गर्दै आएको छ ।
भारतीय पक्षलाई तटबन्धका बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक पत्राचार गरेको थियो । भारतीय पक्षले नेपाली प्रशासनलाई बेवास्ता गर्दै अहिलेसम्म तटबन्धका बारेमा जानकारी गराएको छैन् । भने निर्माणकार्य धमाधम गरिरहेको छ । गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरुको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे बिस्तृत जानकारी दिने भनेको थियो । बैठक सम्पन्न भएको एक महिना बढी समय बितिसक्दा पनि अझै पनि भारतीय पक्षले तटबन्धबारेमा कुनै जानकारी दिएको छैन् । तटबन्धको गत साता भारतको पिथौराढका जिल्ला अधिकारी डा.आसिस चौहानले अनुगमन समेत गर्नुभएको थियो । डिएम चौहानले तटबन्धको निरीक्षण गरि काम छिटो सम्पन्न गर्न निर्देशन दिएको पिथौरागढ जिल्ला प्रशासनले जनाएको छ ।
महाकाली नदी किनारमा तटबन्ध निर्माण गरिरहेको निर्माण कम्पनीका पदाधिकारीहरु संग बैठक गरि डिएम चौहानले तटबन्धको डिजाइन, गुणस्तर तथा समयसीमा बारे ध्यान दिन भनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाकाली नदीको धार नेपाल तर्फ मोडिनेगरि निर्माण भइरहेको तटबन्धको नेपालमा विरोध भइरहेको छ ।
Read full story at source (mahendranagarpost.com)