राजमार्गका कुन सडकको अवस्था कस्तो ?
nepalviews.com · Mon Aug 17 01:47:16 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ। पछिल्लो समयको वर्षाले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन बनाएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका-२ चालिसेमा बिहान ५:४५ बजेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने बीपी राजमार्ग र मकवानपुरको हेटौँडा-ठिङ्गन हुँदै ललितपुर आउने कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीको विवरणअनुसार अर्को सूचना नभएसम्मका लागि बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ भने रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड पनि साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ।
Read full story at source (nepalviews.com)