विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छ : मन्त्री खनाल
khabarhub.com · Tue Aug 18 09:50:27 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले नेपालको आफ्नै पहिचान र प्रतिनिधित्व झल्कने खालका विदेशस्थित नेपाली नियोगका भवन निर्माण गरिनुपर्ने बताए । मन्त्री खनालले विदेशस्थित नेपाली नियोगका लागि घरभाडामा गत आर्थिक वर्षमा रु एक अर्ब ३९ करोड ३६ लाख खर्च भएको जनाउँदै परराष्ट्र मन्त्रालयका लागि सोही आर्थिक वर्षमा विनियोजित कूल बजेटको करिब १७ प्रतिशत भएको उल्लेख गरे ।
उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन । भवन निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण विदेशमा सार्वजनिक भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था अभाव रहेको उनको भनाइ छ । मन्त्री खनालले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा विदेशमा सार्वजनिक भवन निर्माण गर्ने व्यवस्थाको अभाव रहेको भन्दै विदेशमा भवन निर्माण गर्दा सम्बन्धित देशको प्रचलित भवन संहिता तथा मापदण्ड पालना गर्नुपर्ने भएकाले स्पष्ट कानुनी व्यवस्थाको अभावमा प्रक्रियागत जटिलता रहेको स्पष्ट गरे ।
Read full story at source (khabarhub.com)