सरकारी कार्यालयमा स्वदेशी उत्पादनलाई अनिवार्य प्राथमिकता दिन प्रधानमन्त्री कार्यालयको निर्देशन
hamrakura.com · Thu Aug 20 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई अनिवार्य रूपमा प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री वालेन्द्र साहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो सर्कुलर जारी गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक वक्तव्य जारी गर्दै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगलगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)