थापा बागमतीका सातौं मुख्यमन्त्री
annapurnapost.com · Fri Aug 21 02:45:04 GMT 2026

हेटौंडा/भक्तपुर : बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको ७औं मुख्यमन्त्रीको रूपमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका छन्। नवनियुक्त मुख्यमन्त्री थापामगरलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी कुल ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ। राप्रपाले समर्थन जनाएसँगै एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।
एमालेको तर्फबाट मुख्यमन्त्री बनेका थापा यसअघि दुई कार्यकाल स्वास्थ्यमन्त्री भइसकेका छन्। यसअघि गत मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। सहमति हुनुपूर्व पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो। अन्तत : मुख्यमन्त्रीका दावेदार थपलियालाई पछि पार्दै शक्ति केन्द्रसँग नजिक रहेका थापा पहिलो पटक संसदीय दलको नेता बाहिरबाट बागमतीको मुख्यमन्त्री बन्न सफल भए।
Read full story at source (annapurnapost.com)