बाबुरामको प्रश्न : कसरी हेगमा जान्छौँ हामी ?
annapurnapost.com · Sat Feb 13 20:05:00 UTC 2021
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग नगएको बताएका छन्। शनिबार उनको ‘गुमनाम आमाहरुको कथा’ कृतिको विमोचन कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।
टीआरसी र बेपत्ता आयोग बनेपछि त्यसलाई ब्ल्याक मेलिङ गर्ने साधन बनाएर हल्का ढंगले व्याख्या गर्दै तर्साएको भन्दै उनले यस्तो भनेका हुन्। जनयुद्ध दिवसको अवसर पारेर कृति विमोचन गरेका बाबुरामले माओवादीको सशस्त्र युद्धको प्रसंग कोट्याउँदै क्रान्ति गरेबापत को हेग गएको छ ? भन्दै प्रश्न गरेका हुन्।
‘सहिद र बेपत्ता परिवारजनको कुरा छ। टीआरसी, बेपत्ता आयोग जस्ता विषय छन्। यसलाई चाहिँ कसैले कसैलाई ब्ल्याक मेलिङ गर्ने साधनको रुपमा व्याख्या गर्नु हुँदैन। बढो दुःख लाग्छ मलाई यत्तिबेला पनि मान्छेले बढा हल्का ढंगले तर्साउँदै छन्’, बाबुरामले भने, ‘आयोग गठन भयो तपाईंहरु पर्नुहुन्छ भन्छन्। किन परिन्छ ? कहाँबाट परिन्छ हामी ? को हेगमा जान्छ ? कसरी हेगमा जान्छौँ हामी ? त्यो त महान् क्रान्ति थियो। क्रान्ति गरेबापत कोही हेगमा गएको छ ?’
बाबुरामले यो विषयलाई हावादारी र बार्गेनिङको रुपमा प्रयोग गर्नु नहुनेमा जोड दिए। टीआरसी र बेपत्ता आयोग शान्ति सम्झौताका अभिन्न अंग भएको उनको भनाइ छ। उनले यसलाई छिटोभन्दा छिटो पूरा गर्नुपर्नेमा जोड दिए।
‘यस्ता खालका हावादारी कुराहरु गर्ने र त्यसलाई एउटा बार्गेनिङको रुपमा प्रयोग गर्नेकाम कसैले गर्नु हुँदैन। टीआरसी र बेपत्ता आयोग शान्ति सम्झौताका अभिन्न अंग हुन्। यसलाई छिटोभन्दा छिटो पुरा गरिनुपर्छ’, उनले भने, ‘यसमा कसैले पनि खेलवाड गर्नु हुँदैन। यो साझा सहमति हो। कांग्रेस र तत्कालीन एमालेका साथीहरुले गम्भीरतापूर्वक टुंगो लगाएर अगाडि बढ्नुपर्छ। यसमा सबैको ध्यान पुगोस्।’
ओलीको प्रतिक्रान्तिविरुद्ध लड्नुपर्छ
बाबुरामले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिक्रान्तिको संज्ञा दिए। नक्कली राष्ट्रवादको खोल ओढेर ओली सत्तामा पुगेको र अहिले प्रतिनिधिसभा विघटनको अवस्था आएको उनको भनाइ छ।
उनले प्रतिनिधिसभा विघटन भएपछि झर्ला र खाउँला भनेर कांग्रेसले पनि सोच्नु नहुने बताए। अहिलेको आन्दोलनमा सहभागी नभए जनताविरुद्ध गद्धारी हुने उनको भनाइ छ।
‘ओलीको कदम प्रतिगमन मात्र होइन प्रतिक्रान्ति तिर जाँदैछ। पुष्पलालदेखि हाम्रो पुस्तासम्मले केपीसँग लड्यो’, बाबुरामले भने, ‘केपी शर्मा ओली नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुग्नुभयो। यत्तिबेला कांग्रेसले झर्ला र खाउँला भन्ने सोच्नु हुँदैन। प्रतिगामी कदमका निम्ति आन्दोलनमा नआए जनताविरुद्ध गद्धारी हुन्छ।’
‘सबै दिवसलाई साझा रुपमा मनाउनुपर्छ’
बाबुरामले अहिले दिवस मनाउने कुरामा विवाद भएको भन्दै साझा रुपमा सबैले संयुक्त ढंगले दिवसहरु मनाउनुपर्नेमा जोड दिए। उनले जनयुद्ध, मधेस विद्रोह जस्ता दिवसलाई साझा रुपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। उनले आफ्नो सरकार हुँदा लहडमा मनाउने तर सरकार ढलेपछि नमनाउने संस्कार ठिक नभएको उल्लेख गरे। संयुक्त रुपमा राष्ट्रिय दिवस मनाए इतिहासप्रति न्याय हुने उनको भनाइ छ।
‘हामीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवससँगै अनेक दिवस भनिराखेका छौँ। यसमा एकरुपता ल्याऊँ। हिजो फागुन १ गते जनयुद्ध सुरु भएको थियो। त्यसलाई पनि के दिवस भन्ने हो ? जनयुद्ध दिवस भन्दा रुचिकर हुँदैन भने जनक्रान्ति दिवस अथवा केही दिवस भनेर साझा रुपमा मनाउनुपर्यो। त्यत्रो मधेस विद्रोह भयो। माघ ५ गते मधेस बलिदानी दिवस भनेर मनाइन्छ। त्यसलाई मधेसी दलले मात्र किन मनाउने ?’, बाबुरामले प्रश्न गर्दै भने, ‘त्यसलाई देशभर किन नमनाउने ? त्यही विद्रोहले देशलाई संघीयतामा पुर्याएको छ। यसरी आधिकारिक रुपमा हामी दिवस मनाऔँ। राजनीतिक रुपमा यी दिवस मनाउनुपर्छ। त्यसो गर्न सक्यो भने इतिहासप्रति न्याय हुन्छ।’
बाबुरामले एकजना सम्पादकको पुस्तकमा इतिहास माओवादी विद्रोहको इतिहास बंग्याउने काम भएको भन्दै त्यसो नगर्न सुझाव दिए। उनले ति सम्पादकको नाम अहिले नभन्ने बताउँदै प्रश्न गरे, ‘असत्य कुरा नयाँ पुस्तालाई पिलाउनुभयो भने के ज्ञान बढ्छ ?’
बाबुरामको पुस्तक विमोचन समारोहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता अशोक राई, डा. मिना पौडेल, तुलानारायण साहले सम्बोधन गरे।
Read full story at source (annapurnapost.com)