गिट्टी कुटेर घरखर्च धान्दै ज्येष्ठ नागरिक
gorkhapatraonline.com · Sun Aug 23 05:48:51 GMT 2026

उमेरले ७१ वर्ष पुग्नुभएको लक्ष्मी सार्की अझै गिट्टी कुटेर आफ्नो घरखर्च चलाउँदै आउनुभएको छ । दैलेखको नारायण नगरपालिका–६, भूर्तिकी लक्ष्मीले विगत नौ वर्षदेखि गिट्टी कुट्ने काम गर्दै आउनुभएको हो । एक वर्षअघि श्रीमान्को मृत्यु भएपछि दैनिक गिट्टी कुटेर जीविकोपार्जन गर्दै आउनुभएको छ । घरमा नियमित आम्दानीको स्रोत नभएपछि उमेर र शारीरिक अवस्थाको पर्वाह नगरी श्रम गर्नुपर्ने उहाँको बाध्यता छ । एक वर्षअघि हात भाँच्चिए पनि उहाँले एउटा हातले गिट्टी कुटेर घरखर्च चलाउनुभएको थियो । गिट्टी बिक्रीबाट वार्षिक ४० हजारदेखि ७० हजार रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “उमेर ढल्किँदै छ, शरीर अशक्त हुँदै छ तर काम नगरी घर चल्दैन,” उहाँले भन्नुभयो । उमेरका कारण शारीरिक रूपमा कमजोर हुँदै गए पनि जीविकोपार्जनका लागि गिट्टी कुट्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
लक्ष्मी मात्र होइन, उहाँसँगै गिट्टी कुट्दै आउनुभएकी ६० वर्षीय पवित्रा नेपालीको अवस्था पनि उस्तै छ । छोराछोरीको पढाइखर्चसँगै घरायसी खर्च जुटाउन पनि कठिन भएकाले यस्तो काम गर्नु परेको उहाँले बताउनुभयो । नियमित आम्दानीको स्रोत नहुँदा गिट्टी कुटेर हुने आम्दानी नै परिवारको मुख्य आधार बनेको उहाँले बताउनुभयो । गिट्टीको मूल्य एकदम कम छ । गिट्टी कुटेको यकिन मूल्य निर्धारण नहुँदा काम अनुसारको पारिश्रमिकको व्यवस्था हुनुपर्ने उहाँको माग छ । कुटेको गिट्टी बेचेर हुने आम्दानी न्यून भए पनि आर्थिक रूपमा कमजोर परिवारका लागि यही आम्दानी जीवन धान्ने मुख्य आधार बनेको छ ।
Read full story at source (gorkhapatraonline.com)