जोडी स्तूप संरक्षणको पर्खाइमा
gorkhapatraonline.com · Sun Aug 23 06:17:56 GMT 2026

बुद्धले जीवनको २९ वर्ष बिताएको मानिने प्राचीन तिलौराकोट दरबार क्षेत्रनजिकै रहेका ऐतिहासिक जोडी स्तूप संरक्षणको पर्खाइमा छन् । तिलौराकोटको उत्तरपश्चिमतर्फ रहेका यी स्तूपमध्ये एउटा ठुलो र अर्को तुलनात्मक रूपमा सानो छ । पुरातात्त्विक अध्ययनका आधारमा यी स्तूप बुद्धका पिता शुद्धोधन र माता मायादेवीको स्मरणमा निर्माण गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
खुला आकाशमुनि रहेका स्तूपमा घाम, पानी तथा झारपातका कारण क्रमशः क्षति पुग्दै गएको स्थानीयको भनाइ छ । स्थानीय पथप्रदर्शक राजकुमार यादवका अनुसार स्तूपको संरक्षणका लागि तत्काल घेराबार र नियमित सरसफाइ आवश्यक छ । “स्तूपलाई खुला छाड्दा प्राकृतिक कारणले क्षति पुगिरहेको छ,” उहाँले भन्नुभयो, “वरिपरि तारबारसँगै झारपात हटाउने र नियमित संरक्षण गर्ने व्यवस्था हुनु पर्छ ।” लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमा सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार स्तूप क्षेत्रको नियमित सरसफाइका लागि आवश्यक जनशक्ति पर्याप्त नहुँदा समस्या भइरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)