सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन
ratopati.com · Sun Aug 23 16:44:10 GMT 2026

कपिलबस्तु । सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ स्थापना दिवस समारोह सम्पन्न भएको छ । कपिलवस्तुको चन्द्रौटामा आज आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिएका छन् । महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिए । नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।
मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिए । पछिल्लो समय सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गरे ।
Read full story at source (ratopati.com)