बन्द उद्योग पुनरुत्थान
gorkhapatraonline.com · Mon Aug 24 02:43:42 GMT 2026

विसं २०५७ देखि बन्द भएको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ । २०३२ सालमा स्थापना भई २०३५ देखि २०५६ सालसम्म कपडा उत्पादन गरिएको यो उद्योग सञ्चालन गर्न वर्तमान सरकाले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण कार्य गत असारदेखि अघि बढाएको थियो । उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपियाँ बजेट निकासा भई नेपाली सेनाले काम अगाडि बढाएपछि हाल परीक्षण उत्पादनको चरणसम्म कार्यप्रगति भएको हो ।
यो उद्योगबाट कपडा उत्पादन गरेर पहिलो चरणमा सुरक्षा निकायहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि चाहिने कपडा तयार गर्दै व्यावसायिक उत्पादन गर्न सकिने विज्ञहरूको सुझाव छ । हेटौँडा कपडा उद्योगसँगै बुटवलको धागो र बाँकेको कपास उत्पादन कारखाना पनि सञ्चालन गर्ने हो भने हेटौँडामा कपडा उत्पादन गर्न अझ सहज हुने थियो । त्यसका साथै सरकारले नेपालका कृषकलाई कपास खेतीमा आकर्षित गर्न सक्नु पर्छ । कपास खेती गर्ने कृषकलाई उचित तालिम, उपकरण, उन्नत बिउबिजन दिने हो भने बाँदर आतङ्कले हैरान भएका कृषकलाई धेरै राहत मिल्ने थियो । अरू बालीमा जस्तो कपास खेतीमा बाँदरले खासै बिगार पनि नगर्ने र बन्द भएका उद्योग पनि सञ्चालन हुन थालेकाले कपास खेतीतर्फ कृषक आकर्षित हुन सक्ने सम्भावना बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)