सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
ratopati.com · Mon Aug 24 23:45:14 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे र राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि तय गरिएको छ । दुवै सदनको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा दफावार छलफलका लागि समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ ।
सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । साथै, उनले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसहित संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यक्रम रहेको छ । सोही बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
Read full story at source (ratopati.com)