फोहोरको दिगो व्यवस्थापन
gorkhapatraonline.com · Wed Aug 26 03:29:50 GMT 2026

सङ्घीय राजधानी काठमाडौँ उपत्यकालगायत प्रमुख सहरबजारले उचित व्यवस्थापन गर्न नसक्दा फोहोर चुनौतीपूर्ण समस्या बनेको छ । फोहोरलाई मोहर बनाउने कुरा नारा र कागजमा सीमित भयो । जनघनत्व अत्यधिक बढेसँगै उपत्यकामा फोहोरको परिमाण ठुलो भएको छ । फोहोर व्यवस्थापनको दिगो समाधान निकाल्न नसक्दा दुर्गन्ध र प्रदूषणले जोखिम बढाएको छ । २०६२ जेठ ६ देखि उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । त्यहाँ फोहोरको उचित व्यवस्थापन गर्न सकिएन; जसले गर्दा तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक पटक सम्झौता भए । कागजी सहमति हुने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बासिन्दा बारम्बार आन्दोलित बन्दै आएका छन् । त्यहाँ बनाइएको ल्यान्डफिल साइटको सही व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दा प्रदूषणलगायत पर्यावरणीय समस्याको मारमा परेका छन् । उनीहरूका माग सम्बोधन गरी त्यहाँको अवरोध हटाउन १७५ भन्दा बढी सहमति भए पनि समस्या समाधान भएन । त्यही भएर वर्तमान सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट समस्याको दीर्घकालीन समाधानका लागि पहल सुरु गरेको छ । केही दिनअघि सूचना तथा सञ्चारमन्त्री डा. विव्रmम तिमिल्सिनाले सरोकारवाला सबैसँग गहन छलफल गर्नुभयो । उहाँले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसको दिगो समाधान गर्न गहन छलफल सुरु गर्नुभएको हो । ललितपुर महानगरका प्रमुख तथा काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकाको फोहोर सो ठाउँमा अव्यवस्थित रूपमा थुपारेर बन्चरेडाँडा क्षेत्रका जनतामाथि अन्याय नै गरिएको बताउँदै सो ठाउँका जनता र वातावरणमा असर नपुग्ने गरी वैज्ञानिक पद्धति अपनाएर फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउन नसक्दा चार वर्षमा बन्चरेडाँडा ल्यान्डफिल साइट ६० प्रतिशत पुरिएको छ । फोहोर व्यवस्थापनको अहिलेको अवस्थालाई सच्याइएन भने अबको दुई÷तीन वर्षमै ल्यान्डफिल साइट भरिन्छ । त्यसपछिको अवस्था झन् विकराल हुने छ । त्यही भएर तत्कालै यो विषय सम्बोधन गरिनु पर्छ । फोहोरको समस्या समाधानका लागि उपत्यकाका सबै पालिकाले आआफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नु उत्तम विकल्प हो । फोहोर व्यवस्थापनमा समस्या आयो कि काठमाडौँ महानगरपालिकाको मात्र जिम्मेवारी हो भन्ने बुझाइका कारण पनि हरेक वर्ष समस्या हुँदै आएको छ । पालिकाहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नु पर्छ । अहिलेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाका सबै पालिकाले फोहोर फाल्ने तर गाली चाहिँ काठमाडौँ महानगरपालिकाले मात्र खाँदै आएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा जाने विभिन्न २१ वटा पालिकाका फोहोरमध्ये काठमाडौँ महानगरपालिकाको हिस्सा ४८.८ प्रतिशत, ललितपुर महानगरपालिकाको १० प्रतिशत र बुढानीलकण्ठ नगरपालिकाको पाँच प्रतिशत रहेको छ । बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन स्थलको पूर्वाधार निर्माणमा अहिलेसम्म एक अर्ब चार करोड रुपियाँ खर्च भइसकेको र थप ५१ करोड ६३ लाख रुपियाँ बराबरको ठेक्का चालु अवस्थामा छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका कारण ५३९ हेक्टर क्षेत्रका ८७५ घरधुरी प्रत्यक्ष प्रभावित भएका र ल्यान्डफिल साइटको सीमाबाट तीन किलोमिटरसम्मको क्षेत्र अप्रत्यक्ष रूपमा प्रभावित छ । अहिलेसम्म फोहोर बोक्ने गाडीबाट केही मानिसले ज्यान गुमाएका छन् । त्यस क्षेत्रका १५ प्रतिशत घरमा क्यान्सरका बिरामी छन् । दुर्गन्ध र प्रदूषणले स्थानीय जनजीवन प्रभावित छ । त्यही भएर स्थानीयवासीले अब कुनै पनि हालतमा बन्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका छन् । उनीहरूले यही भदौ १५ पछि काठमाडौँको फोहोर बन्चरेडाँडामा विसर्जन गर्ने काम सधैँका लागि बन्द हुने गरी अभियान सुरु गर्ने जानकारी गराएका छन् । त्यसैले फोहोरको समस्या सधैँका लागि अन्त्य गर्न अब टालटुले उपाय होइन, नवीन र वैज्ञानिक दृष्टिकोण आवश्यक छ ।
Read full story at source (gorkhapatraonline.com)