रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति
nepalviews.com · Wed Aug 26 07:25:27 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सहायक कम्पनी अन्तर्गत सञ्चालित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन पूर्ण रूपमा ठप्प भएको छ । यस्तै, निजी क्षेत्रबाट सञ्चालित ७८ मेगावाट क्षमताको सान्जेन खोला (सालासुङ्गी), २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल तथा विद्युत्गृह क्षेत्र प्रभावित हुँदा ती आयोजनाहरूबाट समेत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति रोकिएको छ । यी पाँच आयोजनाबाट राष्ट्रिय प्रणालीमा जोडिँदै आएको कुल २३६ मेगावाट विद्युत् हाल पूर्ण रूपमा विच्छेद भएको छ ।
Read full story at source (nepalviews.com)