रसुवा बाढी : २८ प्रहरी कर्मचारी अझै बेपत्ता
ratopati.com · Wed Aug 26 17:51:18 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण कार्यक्षेत्रमा खटिएका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रका प्रहरी युनिटमा कार्यरत ती कर्मचारीहरू हालसम्म सम्पर्कमा नआएका हुन् । बाढीले प्रहरी कार्यालयहरूमा समेत क्षति पुर्याएपछि त्यहाँ कार्यरत जनशक्तिको अवस्था अज्ञात रहेको र उनीहरूको खोजीका लागि सुरक्षा संयन्त्रलाई तीव्र पारिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन छन् । त्यहाँ कार्यरत २३ जना प्रहरीमध्ये हालसम्म १३ जना मात्र सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । यस्तै, सीमा प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये ८ जना प्रहरी अझै सम्पर्कमा आएका छैनन् । प्रहरी चौकी स्याफ्रुबेँसीका ३ जना, अस्थायी प्रहरी पोस्ट मैलुङका ५ जना, प्रहरी चौकी बेत्रावतीका १ जना र प्रहरी चौकी हाकुका १ जना गरी कुल २८ जना प्रहरी कर्मचारीहरूको खोजी भइरहेको छ ।
Read full story at source (ratopati.com)