पूर्वप्रहरी अधिकृतसहितको ३० करोड लगानीको इपी ल्यान्ड वाटरपार्क तयार, सोमबारदेखि सञ्चालन हुँदै
bizmandu.com · Fri Feb 26 09:27:05 GMT 2021
विराटनगर। इटहरीमा निर्मित पूर्व क्षेत्रकै ठूलो लागतको वाटरपार्क आगामी सोमबारदेखि सञ्चालनमा आउने भएको छ।
कोरोना महामारीका कारण निर्माण र सञ्चालन लक्ष्य केही पछि धकेलिएर बल्ल निर्माण पूरा भएको उक्त पार्कको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम राखिएको सञ्चालकले जनाएका छन्।
इपी ल्यान्ड एन्ड वाटर पार्क नाम दिइएको ३० करोड लगानीको यस पार्कलाई २०७६ भित्रै सञ्चालनमा ल्याउने तयारी थियो। तर कोरोना महामारीका कारण निर्माणमा ढिलाइ हुँदा २०७७ को अन्तमा उद्घाटन गर्न लागिएको पार्कका अध्यक्ष एवम् इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले बताए।
पार्कमा अध्यक्ष पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डीआइजी ज्ञानविक्रम शाह र काठमाडौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटरपार्कका सञ्चालक जगतबहादुर बस्नेतसमेतको लगानी छ।
अध्यक्ष पौडेलले शुक्रबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा वाटरपार्क ६ बिघा क्षेत्रफलमा सञ्चालनमा आउने लागेको हो। पार्क सञ्चालनका कारण इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटक रमाउने ठाउँ प्राप्त हुनेछ। यहाँ बालबालिका, तन्नेरी, प्रौढ सबै उमेरका मानिसले पारिवारिक मज्जा लिन पाउने छन्।
‘पार्कमा पानीसँग खेल्ने आठ वटा अत्याधुनिक वाटर स्लाइड राखिएका छन्,’ अध्यक्ष पौडेलले भने, ‘एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन्। दिनभरिमा ५ हजारले यसको रमाइलो गर्न सक्नेछन्। पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल छ। यो पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ।’
वाटरपार्क हातामा जुरासिक पार्कँ पनि बनाइएको छ। बोटिङ गर्दै उक्त पार्कमा डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरका प्रतीक अवलोकन गर्न सकिने उनले बताए।
‘पार्कमा जिपलाइन टावर बनाइएको छ। यसमा एउटा टावरदेखि अर्कोसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ। साथै, वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) पनि छ,' उनले भने, 'पार्कमा पहिलो स्नोपार्क केही समयपछि सञ्चालनमा ल्याइने छ। यसमा सहभागी हुनेले हिउँको आनन्द लिन सक्नेछन्।’
पार्कभित्र चार वटा छुट्टाछुट्टै रेस्टुरेन्ट पनि सञ्चालनमा आउने उनले जानकारी दिए। जसमध्ये एक बार्बेक्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै फास्टफुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि हुनेछन्।
प्रदेश १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य राखिएको छ। पार्कको क्षमता ५ हजार मानिस अटाउने रहेको बताइएको छ। पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइयो।
‘संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन्,’ पौडेलले भने, ‘विशेषगरी विदेशका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन्। ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा हुन्छन्। नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन्। जसले गर्दा रमाइलो पारिवारिक जमघट र साथीभाइ भेटघाट गर्न पूर्वमा कुनै उपयुक्त ठाउँ नभएको ठानेर हाम्रो समूहले पार्कको निर्माण गरेको हो।’
Read full story at source (bizmandu.com)