हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते
reportersnepal.com · Mon Jan 24 09:44:18 GMT 2022
काबुल, १० माघ : अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।
तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ ।मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् ।
पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन् ।
प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।-एएनआई/Photo: Agency
Read full story at source (reportersnepal.com)