भोटेकोशीमा बगेको मधेशको सपना
nepalviews.com · Thu Sep 03 02:15:44 GMT 2026

२०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा यतिबेला मधेशको सपना पनि बगेको छ । प्रहरीको पछिल्लो विवरणअनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट करिब १६२ जना अझै सम्पर्कविहीन छन् । सप्तरीबाट ४८, पर्साबाट ३८, बाराबाट २३, सर्लाहीबाट १६, रौतहटबाट १३, महोत्तरीबाट १०, सिराहाबाट ८ र धनुषाबाट ६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । प्रारम्भिक रूपमा सम्पर्कविहीन भनिएका १९२ जनामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् । माथि उल्लेखित यी संख्या केवल सरकारी अभिलेखका अंक होइनन् । प्रत्येक अंक पछाडि एउटा घर छ, एउटा परिवार छ, एउटी आमाको आँसु छ, श्रीमतीको प्रतीक्षा छ, बालबालिकाको प्रश्न छ र वृद्ध बाबुआमाको ठूलो आशा पनि छ ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–८, काचनटोलमा अहिले एउटा सिंगो बस्ती र घरको आँगन सुनसान छ । एउटै परिवारका तीन दाजुभाइ—देवकुमार यादव, शिवकुमार यादव र सचित यादव—को प्रतीक्षामा पुरै बस्ती र परिवार चिन्तामा छन् । तीनै दाजुभाइ रोजगारीका लागि रसुवा पुगेका थिए । देवकुमार इन्जिनियर थिए, सचित ओभरसियर र शिवकुमार सुपरभाइजर। तीनै जना एउटै जलविद्युत् आयोजनामा कार्यरत थिए । घरमा वृद्ध आमाबुबा छन् । छोराहरू रोजगारीका लागि हिमाल पुगेका थिए । उनीहरू घर फर्केर आउने, परिवारको भविष्य बनाउने र बुढेसकालको सहारा बन्ने सपनासहित गएका थिए । तर अहिले परिवारसँग उनीहरूको न लास छ, न सासको खबर छ ।
Read full story at source (nepalviews.com)