हामी प्रतिस्पर्धा गरेरै आएका हौं अब नयाँ ब्रोकरहरुसँग पनि प्रतिस्पर्धा गर्न तयार छौं : धर्मराज सापकोटा
nepalipaisa.com
नेपाली पैसा
नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिन लागेको छ । लामो समयदेखि विभिन्न बहानामा नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अड्किएको थियो । लाइसेन्स वितरण प्रक्रिया रोक्न परेको रिट सर्वोच्च अदालतले चैत अन्तिम साता खारेज गरिदिएपछि यो प्रक्रिया पुनः अघि बढेको हो । नयाँ ब्रोकरहरु थपिएपछि बजार विस्तार हुने, आमनागरिकको सेयर बजारसम्मको पहुँच सहज हुने, बजारमा नयाँ प्रडक्ट र लगानी उपकरणहरु थपिनेलगायत विश्लेषण भइरहेको छ ।
यसका साथै, हाल सञ्चालनमा रहेकमा ब्रोकर कम्पनीहरुलाई पनि प्रतिस्पर्धा र अवसरसँगै चुनौती पनि थपिने अनुमान गरिएको छ । बजार भने प्रतिस्पर्धात्मक बन्नेछ । त्यसो त, हालका ब्रोकर कम्पनीहरुले बजारमा सिन्डिकेट चलाएको पनि आरोप लाग्ने गरेको छ । योसँगै अहिले नै नयाँ ब्रोकर कम्पनीहरु आवश्यक छ कि छैन ? अहिलेको मार्केटले नयाँ ब्रोकर कम्पनीलाई थेग्न सक्छ कि सक्दैन ?
लगायतका टिकाटिप्पणी पनि हुँदै आएको छ । यसैबीच, नयाँ ब्रोकर कम्पनी थपिँदा कस्तो प्रतिस्पर्धा होला ? पुरानालाई टिक्न समस्या त हुने होइन ? लगायतका विषयवस्तुमा केन्द्रित रहेर स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष
धर्मराज सापकोटा
सँग नेपाली पैसाकी
इशारा कोइराला
ले गरेको कुराकनीको सम्पादित अंश :
स्टक ब्रोकर्स एसोसिएसनको नेतृत्व सम्हाल्नु भएको छ । नेपालको पुँजी बजार विकास तथा विस्तारका लागि के–के गर्ने योजना बनाउनु भएको छ ?
ब्रोकर भनेको निकै तल्लो लेभलबाट पुँजी बजारका लगानीकर्ताहरुलाई सेवा दिने निकाय हो । योभन्दा माथि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, स्टक एक्चेन्ज, सीडीएसलगायतका नियामक निकायहरु छन् । उनीहरुले बनाएको नीति नियमको दायरामा रहेर हामीले काम गर्ने हो । यसैबीच, हामीले गर्ने भनेको पुँजी बजारको विकास र विस्तार पनि हो । त्यो काम हामीले गर्दै आएका छौं पनि । आगामी दिनमा पनि हामी बजार विकास र विस्तारका लागि काम गर्ने नै छौं । व्यवसाय सुधार तथा प्रवद्र्धनमा पनि हाम्रो ध्यान जानेछ ।
बैंकका सहायक कम्पनी तथा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढेको छ । नयाँ स्टक एक्सचेन्जले पनि लाइसेन्स पाउँदैछ । यसलाई कसरी हेर्नु भएको छ ?
नयाँ ब्रोकर थप्ने विषयमा सुरुदेखि नै एसोसिएसनको धारणा एउटै छ । अहिले धितोपत्र बोर्डले पुँजी बजारका बारेमा अध्ययन नै नगरी उक्त प्रक्रिया आघि बढाएको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हामलले पनि सार्वजनिक कार्यक्रममा नै नेपाली पुँजी बजारका बारेमा अध्ययन नै नभएको कुरा बताउँदै आउनु भएको छ । यसैबीच पर्याप्त अध्ययनबिना नै लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको छ । अहिले नेप्सेमा २५३ वटा कम्पनीहरु सूचीकृत छन् भने हामी ५० वटा ब्रोकर कम्पनीहरु रहेका छौं ।
बैंकका सहायक कम्पनी तथा नयाँ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनेसँग पहुँच विस्तारको कुरा जोडिएको छ । नेपालको ग्रामीण क्षेत्रसम्म कसरी पुँजी बजार विस्तार हुन्छ भन्ने मुख्य कुरा हो । यसका लागि अहिले भएका ब्रोकर कम्पनीहरुमार्फत नै धेरै वैकल्पिक बाटाहरु छन् । २०६४ सालमै ल्याइएको आधिकारिक प्रतिनिधिको व्यवस्था अहिलेसम्म कार्यान्वयमा आएको छैन । त्यसलाई कार्यान्वयन मात्र गर्ने हो भने पनि सबैमा बजारको पहुँच सहजै हुन्छ ।
अन्तर्राष्ट्रिय अभ्यासमा रहेको सब–ब्रोकरको अवधारणाबाट पनि बजारको पहुँच विस्तार हुन सक्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यस्तै, सब–ब्रोकर एजेन्टका कुराहरु पनि कार्यान्वयनमा ल्याइएको छैन । अहिले भएका ब्रोकरहरुले २२ अर्ब रुपैयाँसम्मको सेटलमेन्ट गरेको रेकर्ड छँदैछ । जबकि सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट अहिलेसम्म छैन । यी औजारहरु सञ्चालनमा ल्याएर सूचीकृत कम्पनीको संख्या बढाउनुको सट्टा ब्रोकर थप्ने कुरा भएको छ । यो सरासर अनुचित हो ।
नियामकले नयाँलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाइसकेको अवस्था छ । अब ढिलोचाँडो नयाँ ब्रोकर कम्पनी त थपिने नै छन् । नयाँ थपिएपछि निश्चय नै प्रतिस्पर्धा बढ्नेछ । यस्तो अवस्थामा पुराना ब्रोकरहरुले बजारमा के कस्ता रणनीति बनाएका छन् ?
हामी प्रतिस्प्रर्धा नै गरेर सञ्चान अनुमति पाएका कम्पनीहरु हौं । अहिले सञ्चालन अनुमति दिन लागिएका ब्रोकर कम्पनीहरुको कुनै ठोस मापदण्ड छ भन्ने हामीले सुनेका छैनौं । बजारको माग हो भने त खुला तरिकाले लाइसेन्स दिनुपर्ने होइन र ? हामीले प्रतिस्प्रर्धा अहिले पनि गरिरहेका छौं । नयाँ कम्पनीहरु यदि थपिए भने पनि हामी प्रतिस्प्रर्धा गर्न तयार छौं ।
तपाईंहरु अब कसरी अघि बढ्नुहुन्छ ? खास योजना के छ ?
मैले अघि पनि भनिसकें हामी भनेको नियामकको नीति नियममा रहेर काम गर्ने निकाय हौं । अहिले ब्रोकरहरुले सेयर खरिदबिक्रीको काम मात्रै गर्ने हो । हामीले सेयर खरिदबिक्री गर्दा कुनै किसिमको फल्ट अहिलेसम्म गरेका छैनौं । हामीले २२ अर्ब रुपैयाँसम्मको कारोबार समयमा नै सेटल्टमेन्ट गरेका छौं ।
ताकि अहिलेसम्म लगानीकर्तासँग उधारो उठाउने मेकानिजम नियामकले बनाइदिएको छैन । यो बाहेक मार्जिन लेन्डिङ, पोटफोलियो म्यानेजमेन्ट, एडभाइजरीलगायतका सुविधा ब्रोकरले दिने अन्तर्राष्ट्रिय प्रावधान रहेको छ । तर, नेपालमा यी सुविधा दिन विभिन्न बाहनामा बन्देज लगाईंदै आइएको छ । अहिले शाखा विस्तार गर्न दिने भने पनि ललिपप देखाएर बसेको जस्तो गरिएको छ । अहिले ब्रोकरहरुले नीति नियममा बसेर दिन सक्ने सम्मको सेवा सुविधा दिंदै आएका छन् ।
शाखा विस्तारका लागि नियामकले अनुमति दिएको जस्तो गरेर ललिपप देखाउने काम गर्यो भन्नुभयो । शाखा विस्तारको अनुमति पाइरहँदा पनि तपाईंहरुको आपत्ति किन ?
हामीले डेढ करोड रुपैयाँ पुँजी पुर्याएर शाखा विस्तार गर्नुपर्नेछ । यो गरिरहँदा हामीले एकचोटीमा एउटा मात्रै शाखा विस्तार गर्न पाउने भनेर अंकुश लगाइएको छ । यसमा स्पष्ट नीति पनि छैन । एउटा शाखा सञ्चालनमा नआई अर्को शाखा विस्तार गर्न नपाउने भनेर जसरी ट्रिट भएको छ ।
अनुमति पाएको शाखा कुनै कारणबस खुलेन भने अर्को शाख विस्तारका लागि एक वर्षसम्म अनुमति माग्न नपाइने व्यवस्था छ । यो गलत हो । उपत्यकामा एउटा शाखा खोल्न उपत्यका बाहिर ३ वटा शाखा विस्तार गर्नुपर्छ भनिएको छ । उपत्यकाकै पनि दूरदराज ठाउँमा ब्रोकर शाखा विस्तार नभएकोमा नियामकको कुनै चासो छैन । यसले पहुँच विस्तारमा रोक्यो जस्तो लाग्छ ।
पहुँच विस्तारमा नियामकले रोक्यो भनिरहँदा तपाईंहरु सहर त्यसमा पनि काठमाडौं र अरु २–४ वटा सुविधासम्पन्न ठाउँमा मात्र केन्द्रित हुनुभयो भन्ने आरोप पनि छ नि ?
यो हामी माथि लगाइएको आरोप मात्रै हो । हामीले धितोपत्र बोर्डले शाखा विस्तारको निर्देशिका ल्याउनुभन्दा पहिले नै २५० भन्दा बढी ठाउँमा शाखा विस्तारका लागि अनुमति मागेर बसेका थियौं । तर, हामीले अनुमति पाएनौं । दूरदराजसम्म शाखा विस्तार गर्न लाग्दा हामीलाई विभिन्न किसिमको अंकुश लगाउने अनि भएन भन्ने जस्ता आरोप लगाउँदै आइएको छ । हामी त नियामकले गर भनेको काम गर्ने न हो ।
अहिले सञ्चालनमा रहेका अधिकांश ब्रोकर कम्पनीहरुको सेवाबाट किन आम लगानीकर्ता सन्तुष्ट हुन सकेनन् ?
विभिन्न लगानीकर्ता संघसगठनको फोरमबाट हामीमाथि आरोप लगाउने काम भएको छ । हाम्रो काम भनेको ट्रेडिङ गरेर राफसाफ गर्ने हो । हामीले सेटलमेन्ट फन्ड नै नहुँदा पनि राफसाफ गर्दै आएका छौं । सेयर लगानीकर्ताको उधारो पनि समयमा नै ब्रोकरहरुले राफसाफ गर्दै आएका छन् ।
जसले हामीबाट सुविधा लिएका छन्, उनीहले नै हाम्रो विरोध गर्दैआएका छन् । हाम्रो कुन सेवाप्रति असन्तुष्टि भएको हो भन्न सक्नुभएको छैन । खाली विरोधका लागि विरोध गरेको जस्तो मात्रै भएको छ । हामीले दिन सक्ने जति सेवासुविधा उहाँहरुलाई दिएका छौं र भविष्यमा पनि दिने नै छौं ।
ब्रोकर कमिसन धेरै भयो भन्ने गुनासो छ ? तपाईं के भन्नु हुन्छ ?
ब्रोकर कमिसनका बारेमा पनि अध्ययन हुन जरुरी छ । यदि, अध्ययन भयो भने थाहा हुन्छ कि दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा सस्तो ब्रोकर कमिसन नेपालको नै हो । कतिपय दक्षिण एसियाली मुलुकहरुका ब्रोकरले शून्य कमिसनमा पनि काम गर्छन् । तर यसो भन्दै गर्दा उनीहरुले सञ्चालन गर्ने सेवाहरुमा विविधता भेटिन्छ । विभिन्न किसिमका सर्भिस थप्दै जाँदा कमिसनको मूल्य समायोजन हुँदै जाने हो ।
किनभने अतिरिक्त सेवावापत कमिसन बाहेकको शुल्क ब्रोकर कम्पनीले पाउने गर्छन् । ब्रोकरमार्फत अरु सेवा सुविधा दिइरहेका मुलुकहरुमा भने ब्रोकर कमिसन शून्य छ । किनभने उनीहरुले अन्य स्रोतबाट पनि आम्दानी गर्न सक्छन् । तर, नेपालमा ब्रोकरको आम्दानीको स्रोत भनेको कमिसन मात्रै हो । यस्तो अवस्थामा अहिलेको कमिसन धेरै होइन ।
Read full story at source (nepalipaisa.com)