इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
nepalipaisa.com
विराटनगर : अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,‘तपाईहरु राज्यको राजस्व संकलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।
भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं । मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नुभएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’ मन्त्री डा. महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि स्पष्ट पारे । उनको भनाइ थियो, ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ ।’
उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए । मन्त्री डा महतले भने, ‘समग्रमा हामी पारदर्शिताका साथ काम गरौं, सेवाग्राहीलाई सहज र सौहार्दपूर्ण वातावरण निर्माण गरौं, नियम कानुनअनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।’
रासस
Read full story at source (nepalipaisa.com)