मर्जमा गएका बैंकहरुको निक्षेप र कर्जा प्रवाहमा व्यापक वृद्धि, ४४ खर्ब ६१ अर्ब निक्षेप संकलन हुँदा कर्जा कति ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सूचीकृत २० वाणिज्य बैंकहरुले ४४ खर्ब ६१ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा बैंकहरुको निक्षेप संकलन ३७.३७% ले बढेको हो । यस अवधिमा सबैभन्दा बढी निक्षेप ग्लोबल आइएमई बैंकको ४ खर्ब ९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
बैंक अफ काठमान्डूसँग मर्जरपछि यस बैंकको निक्षेप ५२.३३% ले बढेको होे । यता, निक्षेपमा सबैभन्दा ठूलो वृद्धि भने कुमारी बैंकको देखिएको छ । एनसीसी बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरेपछि यसको निक्षेप संकलन ८३.३६% ले बढेर ३ खर्ब ३ अर्ब २८ करोड रुपैयाँ भन्दा बढी पुगेको हो । यता, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत २० वाणिज्य बैंकहरुले ४० खर्ब ५९ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा बैंकहरुको कर्जा प्रवाह २८.५४% ले बढेको हो । यस अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ३ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३८.४२% धेरै हो । यस्तै, कुमारी बैंकको कर्जा प्रवाहमा पनि सबैभन्दा धेरै वृद्धि देखिएको छ । गत वर्षको तुलनामा कर्जा प्रवाह ७६.७९% ले वृद्धि गरी २ खर्ब ८५ अर्ब रुपैयाँ बढी पुर्याएको छ ।
यता, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंकको कर्जा प्रवाहमा भने गिरावट आएको छ । सबैभन्दा बढी सनराइज बैंकको कर्जा प्रवाह २.२१% ले घटेको छ । समग्रमा मर्जर तथा एक्विजिसन प्रक्रिया सम्पन्न गरेका बैंकहरुको निक्षेप र कर्जा प्रवाहमा राम्रो सुधार देखिएको छ ।
मर्जर वा एक्विसिजन प्रक्रिया सम्पन्न गरेका हिमालयन बैंक, नबिल बैंक र प्रभु बैंकको पनि निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएको छ । यता, नेपाल इन्भेष्टमेन्ट र मेगा मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने गत आर्थिक वर्षको तथ्यांक उपलब्ध छैन । तथापि, मर्जरमा गएकाले यस बैंकको पनि निक्षेप र कर्जा प्रवाहमा उल्लेख्यमात्रामा बढोत्तरी भएको अनुमान गर्न सकिन्छ ।
Read full story at source (nepalipaisa.com)